वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकद्धारा नेपाललाई ७ अर्बभन्दा बढी ऋण स्वीकृत
वि.सं.२०८२ फागुन २७ बुधवार ११:५७
shares

काठमाडौं, २७ फागुन । विश्व बैंक ले नेपालमा वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर सुधार गर्न ७ अर्ब ७ करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ।
वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम “नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट” कार्यान्वयनका लागि प्रदान गरिएको हो। परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका तथा तराई का केही क्षेत्रमा सञ्चालन गरिनेछ।
परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। यसका लागि उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोगलाई प्रोत्साहन गर्ने, प्रदूषण नियन्त्रणका उपाय लागू गर्ने तथा वातावरणमैत्री उत्पादन प्रणाली विकासमा सहयोग गरिने जनाइएको छ।
विश्व बैंकका अनुसार यस परियोजनाले वायु प्रदूषण घटाउने मात्र नभई आर्थिक गतिविधिलाई पनि वातावरणमैत्री बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी उद्योग क्षेत्रबाट निस्कने धुँवा तथा हानिकारक कणहरू कम गरी शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ।
परियोजना कार्यान्वयन उद्योग विभाग मार्फत गरिनेछ, जुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्छ। साथै वन तथा वातावरण मन्त्रालय र वातावरण विभाग को समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
विश्व बैंकले नेपालमा बढ्दो वायु प्रदूषण सार्वजनिक स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यस परियोजनामार्फत स्वच्छ प्रविधि प्रवर्द्धन, प्रदूषण नियन्त्रण तथा वातावरणीय व्यवस्थापन सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।












