काठमाडौंमा वायु प्रदूषणको अवस्था अस्वस्थ, एक्यूआई १९६ पुग्यो
वि.सं.२०८२ फागुन २७ बुधवार १२:१०
shares

काठमाडौं, २७ फागुन । काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अझै सुधार हुन सकेको छैन। मंगलबार अत्यन्त खराब अवस्थामा पुगेको वायु गुणस्तर बुधबार पनि अस्वस्थ तह नजिकै कायम रहेको छ।
रियल टाइममा वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयर का अनुसार बुधबार बिहान समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९६ पुगेको छ। एक्यूआई २०० नजिक पुगेको अवस्थालाई निकै अस्वस्थको तह मानिन्छ भने १५० नाघेपछि नै वायु गुणस्तर अस्वस्थ मानिन्छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर मापदण्डअनुसार ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो, ५१ देखि १०० लाई मध्यम, १०१ देखि १५० लाई संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ। यस्तै १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थ, २०१ देखि ३०० लाई निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तहमा पुगेको संकेत गर्ने मानक तय गरिएको छ।
हाल काठमाडौंको एक्यूआई १९६ पुगेकाले सर्वसाधारणका लागि स्वास्थ्य जोखिम बढ्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्। यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।
आईक्यू एयरको तथ्यांकअनुसार बुधबार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा परेको छ। सो सूचीमा भारतको दिल्ली पहिलो स्थानमा, पाकिस्तानको लाहोर दोस्रो स्थानमा र बंगलादेशको ढाका तेस्रो स्थानमा रहेका छन्।
वायु प्रदूषण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, निस्कनै परेमा मास्क प्रयोग गर्न तथा धुलो–धुवाँबाट जोगिने उपाय अपनाउन सुझाव दिएको छ। साथै घरभित्र बस्दा पनि झ्यालढोका अनावश्यक रूपमा खुला नराख्न र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन आग्रह गरेको छ।













