पाल्पा सिमेन्टको आईपीओ फागुन २९ गते बाँडफाँड हुने
वि.सं.२०८२ फागुन २७ बुधवार १६:३३
shares

काठमाडौं, २७ फागुन । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) फागुन २९ गते बाँडफाँड हुने भएको छ।
कम्पनीले आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको थियो। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर बाँडफाँड गरिनेछ।
यस क्रममा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता शेयर निष्कासन गरेको थियो।
कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले यसको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति पाएको थियो। यसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँड भइसकेको छ।
यस्तै ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।













