सात महिनामा १२ खर्ब ६१ अर्ब विप्रेषण भित्रियो
वि.सं.२०८२ फागुन २७ बुधवार १७:५७
shares

काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९।८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले मात्रै बढेको थियो।
प्रतिवेदनअनुसार २०८२ साल माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ५।५ प्रतिशतले वृद्धि भएको थियो।
यसैगरी समीक्षा अवधिमा खुद द्वितीय आय १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको देखिएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ रहेको छ। पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९० हजार ८८६ रहेको थियो।













