Dhulikhel Eco Banner new

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न पर्याप्त

4.52K
shares

काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ।

नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति १६।७ प्रतिशतले वृद्धि भएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति माघ मसान्तसम्म बढेर २२ अर्ब ७६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको हिस्सा पनि बढेको छ। असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकमा रहेको सञ्चिति २१.२ प्रतिशतले वृद्धि भई माघ मसान्तसम्म २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

यस्तै राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म ४२.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म कायम रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात तथा १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ।

यसैबीच विदेशी विनिमय सञ्चिति र विभिन्न मुद्राप्रदायबीचका अनुपातहरू पनि सुधार भएका छन्। माघ मसान्तमा विदेशी विनिमय सञ्चिति र मुद्राप्रदायबीचका अनुपात क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन्। असार मसान्तमा भने यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।