महँगीदर घट्दै ३.२५ प्रतिशतमा कायम
वि.सं.२०८२ फागुन २७ बुधवार १८:१९
shares

काठमाडौं, २७ फागुन । नेपालमा महँगीदर घट्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८२ माघ महिनामा वार्षिक महँगीदर ३.२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यो ४.१६ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको ३.६६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष खाद्य समूह ४.९५ प्रतिशत र गैर–खाद्य समूह ३.७४ प्रतिशतमा थियो।
चालु आर्थिक वर्ष २०८२र८३ को सात महिनाको औसत महगीदर १.९२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा औसत ४.८६ प्रतिशत थियो।
खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशतले बढेको छ। घ्यू–तेल ७.६१ प्रतिशत, फलफूल ७.४१ प्रतिशतले वृद्धि भएको छ। तर दाल–गेडा ५.१९ प्रतिशत, अन्य खाद्य पदार्थ २.९७ प्रतिशत र मरमसलाको मूल्य २.६१ प्रतिशत घटेको छ।
गैर–खाद्य समूहअन्तर्गत विविध वस्तु–सेवा २१.९८ प्रतिशतले बढेको छ। शिक्षाको मूल्य ७.४६ प्रतिशत, कपडारजुत्ता ५.२८ प्रतिशत, सुर्तीजन्य ४.१५ प्रतिशत र मदिरारपेय ३.८५ प्रतिशतले वृद्धि भएको छ। सञ्चारको मूल्य ०.०८ प्रतिशतले घटेको छ।
ग्रामीण क्षेत्रमा महँगीदर २.५२ प्रतिशत, सहरी क्षेत्रमा ३.५१ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा मधेशमा सबैभन्दा बढी ५.१४ प्रतिशत, कोशीमा ३.५३ प्रतिशत, बागमतीमा ३.१० प्रतिशत, गण्डकीमा २.४२ प्रतिशत, लुम्बिनीमा ३.२९ प्रतिशत, कर्णालीमा १.६२ प्रतिशत र सुदूरपश्चिममा १.६४ प्रतिशत रहेको छ।
भौगोलिक आधारमा काठमाडौं उपत्यका ३.४८ प्रतिशत, तराई ३.६६ प्रतिशत, पहाड २.६८ प्रतिशत र हिमाल २.५८ प्रतिशत महगीदरमा रहेको छ।















