स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ जारी गर्ने
वि.सं.२०८२ फागुन २८ बिहीवार ०८:३३
shares

काठमाडौं, २८ फागुन । स्नो रिभर्स लिमिटेडले आउँदो चैत १२ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट माघ १८ गते अनुमति पाएको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको शेयरमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता प्रदान गरिएको छ। त्यस्तै सोही गाउँपालिकाका वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिका वडा नम्बर ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दालाई पनि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन छिटोमा चैत २३ गते बन्द हुनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ छिटोमा चैत १२ गते बन्द हुने र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत २३ गतेसम्म खुला रहनेछ।
आयोजना प्रभावितले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८ याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेड को सिरिजङ्गा शाखा तथा एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड को फुङलिङ शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।















