Dhulikhel Eco Banner new

भीमसेन थापाद्धारा एनआरएनए आईसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

6.1K
shares

काठमाडौं, २८ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भीमसेन थापाले आगामी १२औँ महाधिवेशनका लागि आईसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पोर्चुगलमा लामो समयदेखि व्यवसाय, समाजसेवा र एनआरएनए गतिविधिमा सक्रिय रहेका थापाले संगठनभित्र नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र परिणाममुखी योजनासहित युवाहरूलाई समेट्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएको बताएका छन्।

थापा युरोप र नेपालमा कृषि तथा निर्माण क्षेत्रमा उल्लेख्य लगानी गर्ने सफल व्यवसायी एवं समाजसेवीका रूपमा परिचित छन्। उनी एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष, आईसीसी सदस्य तथा युरोप डीआरसी हुँदै हाल आईसीसी युवा संयोजकको जिम्मेवारीमा सक्रिय रहेका छन्।

उनी आफ्नो उम्मेदवारी अभियानमा कार्य र परिणाममुखी नेतृत्व मा जोड दिन्छन्। थापाले संगठनभित्र देखिएका मतभेद र गुटलाई अन्त्य गर्दै सबैलाई साझा र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, संस्थागत लोकतन्त्र सुदृढ बनाउन आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्तावलाई आफ्नो प्रमुख एजेन्डा बनाउने पनि उनले बताएका छन्।

थापाले युवालाई केन्द्रमा राख्दै नीतिनिर्माण र नेतृत्व तहमा अर्थपूर्ण भूमिका सुनिश्चित गर्ने स्पष्ट धारणा सार्वजनिक गर्दै, पारदर्शिता, सहभागिता र जवाफदेहितामा आधारित नेतृत्व को आवश्यकता औंल्याएका छन्।

उनले विश्वभर रहेका गैरआवासीय नेपाली समुदाय, विद्यार्थी र उद्यमी युवालाई एउटै सञ्जालमा जोडेर सीप, स्रोत र अनुभवको समन्वय गर्ने रणनीति तय गर्दै, सुझाव र अपेक्षालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थापाले २०१५ को भूकम्प प्रभावित क्षेत्रका राहत तथा पुनर्निर्माण, कोभिड–१९ महामारीका बेला विभिन्न सामाजिक सहयोग तथा राहत अभियानमा सक्रिय भूमिका निभाइसकेका छन्। यसले उनी युवापुस्तामा लोकप्रिय उम्मेदवारका रूपमा उभिएको पुष्टि गर्दछ।

आफूलाई काम गर्ने अवसर दिन सम्पूर्ण सहभागी प्रतिनिधिहरूलाई मतदानको अपील गर्दै थापाले विश्वभरका गैरआवासीय नेपाली तथा अभियन्ताहरूसँग सहयोग, समर्थन र सुझावको अपेक्षा राखेका छन्।