पुल्चोकमा मेटलाइफ नेपालको नयाँ हेड अफिस उद्घाटन
वि.सं.२०८२ फागुन २८ बिहीवार ११:५७
shares

काठमाडौं, २८ फागुन । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड अफिस उद्घाटन गरेको छ। यो कार्यालयले कम्पनीको आधुनिकता, प्रविधि एकीकरण र ग्राहक–केन्द्रित सेवाप्रतिको प्रतिबद्धता गरेको हो।
नयाँ कार्यालयले कार्य सञ्चालनलाई प्रभावकारी बनाउँदै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। मेटलाइफ नेपालले यस पहलमार्फत देशभरका परिवारहरूमा वित्तीय सुरक्षा र आत्मविश्वास सुदृढ गर्ने योजना राखेको जनाएको छ।
उद्घाटन कार्यक्रममा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द’अफेयर्स स्कट अर्बोम, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, मेटलाइफ एशियाका क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभर र वरिष्ठ उपाध्यक्ष एलेना बुटारोभा लगायत विशिष्ट अतिथिहरू उपस्थित थिए।
कार्यक्रममा बोल्दै ओलिभरले भने, “यो नयाँ प्रधान कार्यालयले नेपालप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धता देखाउँछ। आधुनिक क्षमतासहित ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने दिशामा यो नयाँ अध्याय हो। नियामक निकाय, साझेदार र समुदायप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।”
मेटलाइफ नेपालले नयाँ कार्यालयमार्फत नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउने जनाएको छ।












