नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न
वि.सं.२०८२ फागुन २८ बिहीवार १७:१७
shares

काठमाडौं, २८ फागुन । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
त्यसै अवसरमा अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने बताए।
बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।
यसैबीच, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।












