अब नेपाल लगानीका लागि पूर्ण रूपमा सुरक्षित छः सभापति लामिछाने
वि.सं.२०८२ चैत १९ बिहीवार १४:५७
shares

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल अब लगानीका लागि सुरक्षित गन्तव्य बनेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे। उनले सरकारले राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
“नेपालमा प्राकृतिक स्रोत र युवा जनशक्तिको कुनै कमी छैन,” उनले भने, “गैरआवासीय नेपालीहरूलाई म आग्रह गर्छु—नेपालमा लगानी गरी देशको आर्थिक विकासमा सहभागी हुनुस्।”
लामिछानेले निजी क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै बिचौलिया र माफियाको प्रभाव नियन्त्रण गर्ने काम सुरु भइसकेको बताए। “अब नीतिहरू किनबेच हुँदैनन् र निर्णयहरू कसैको दबाबमा बन्ने छैनन्,” उनले स्पष्ट पारे।
उनले व्यवसायीहरूले भोग्दै आएको असुरक्षा, अनिश्चितता र दबाब अन्त्य हुने दाबी गर्दै सरकारले व्यवसायिक स्वतन्त्रताको सुनिश्चितता गर्ने बताए।















