Dhulikhel Eco Banner new

अमेरिका–इरानबीच प्रारम्भिक सहमतिपछि कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा

637
shares

अमेरिका र इरानबीच युद्धविरामतर्फ अग्रसर हुने प्रारम्भिक सहमति बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लाग्न थालेको छ। सम्भावित आपूर्ति अवरोध हट्ने अपेक्षाले विश्व बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको हो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य २.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८१.१५ अमेरिकी डलरमा सीमित भएको छ। कारोबारका क्रममा यसको मूल्य ८०.८९ डलरसम्म झरेको थियो, जुन मार्च ४ यताकै सबैभन्दा कम स्तर मानिएको छ।

यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रुडको मूल्य पनि २.८ प्रतिशतले घट्दै प्रतिव्यारेल ७८.५३ अमेरिकी डलरमा पुगेको छ। कारोबार अवधिमा यसको मूल्य ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्च १० पछिको न्यूनतम बिन्दु हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम सहमति भएको घोषणा गरेका थिए। उक्त घोषणापछि सोमबार मात्रै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको थियो।

विश्लेषकहरूका अनुसार होर्मुज जलडमरू पुनः सहज रूपमा सञ्चालनमा आउने सम्भावना बलियो बन्दै गएपछि विश्वव्यापी तेल आपूर्तिमा अवरोध नआउने विश्वास बढेको छ। यही अपेक्षाले लगानीकर्ताको मनोबल उकास्दै बजारमा आपूर्ति सहज हुने संकेत दिएको र त्यसको प्रत्यक्ष प्रभाव तेलको मूल्यमा परेको बताइएको छ।