Dhulikhel Eco Banner new
HRM

बटेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत कुटिए

3.65K
shares

काठमाडौं, ३० असार । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी कुटिएका छन् । गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई बुधबार कार्यकक्षमै कुटेका हुन् ।

श्रम तथा रोजगार मन्त्रालयबाट आएको पत्रमा तोक लगाउन पुगेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत जोशीले गालीगलौज गर्दै हातपात गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा कार्यरत करारका कर्मचारीले उनलाई कुटेका हुन् ।

सोही बेला घेराउन गर्न पुगेका उपभोक्ता समितिका प्रतिनिधिले समेत उनलाई कुटपिट गरेको बताइएको छ । सम्पन्न योजनाको भुक्तानी दिन आलटाल गरेको भन्दै आजित भएका उपभोक्ता समितिका प्रतिनिधिहरुले पनि प्रशासकीय अधिकृत जोसीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

‘कमिसन लिएर धेरै पाटीहरुसँग प्रशासकीय अधिकृत ले काम गराएका छन् । ती योजनाको कागजमा जबर्जस्ती कर्मचारीलाई सहीछाप गर्न दबाब दिइराखेका थिए । नियम विपरित आदेश अनुसार काम गर्न नमान्ने कर्मचारीलाई गालीगलौज गर्ने, धाकधम्की दिने गर्थे,’ कुटपिट देखेका एक प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘रामजी सरले आजपनि त्यस्तै गालीगलौज गरेर हातपात गर्न थालेपछि कर्मचारीले प्रतिवाद गरेका थिए ।’

कर्मचारीबीच कुटाकुट भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

आठ लाख घुस काण्डमा मुछिएका यस अघिका निवर्तमान गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीलाई कमिसन दिने प्रभावमा लिएर उनले एकलौटी मोटो कमिसनको सेटिङमा रौतहटका एउटै निर्माण कम्पनीलाई एक दर्जन बढी योजना दिएको राज खुलेको थियो ।

उनी बटेश्वरमा आएयता गाउँपालिका कार्यालयमा व्यापक अनियमितता भएको स्थानीयको आरोप छ । बिना कमिसन र सेटिंको कुनै काम उनले गर्न नमानेको उपभोक्ता समिति तथा ठेकेदारहरु बताउने गरेका छन् ।