Dhulikhel Eco Banner new

‘बचतकर्ताले आफ्नो बचत कहाँ लगानी भइरहेको छ भन्ने बुझ्नुपर्छ’

5.07K
shares

काठमाडौं, २९ भदौ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बचतकर्ताहरुले आफूले राखेको बचत रकम कहाँ प्रयोग भएको छ भन्ने कुरामा ध्यान दिनु पर्ने बताएका छन् । नबिल बैंकले ल्याएको बचत शिक्षा सिकाउने आकर्षक योजना सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले यस्तो बताएका हुन् ।

अध्यक्ष पौड्यालले नबिल बैंकले मूनाफामात्रै कहिल्यै नहेर्ने बताए । उनले भने, ‘हाम्रो प्राथमिकता प्रोफिट मात्रै होइन, हामी वातावरणका लागि लगानी गर्छौ, हामी वित्तीय साक्षरताका लागि पनि लगानी गर्छौ ।’ समाज र राष्ट्रका लागि समेत फाइदा हुने काम गरिरहेकाले बचतकर्ताले रिटर्न साथै अन्य धेरै कुरा पाउने भएकाले सचेत बचतकर्ताले नबिल नै रोज्नेमा आफू विस्वस्त रहेको उनले बताए ।

बालदिवसकै अवसर पारेर नबिलले बुधबार सार्वजनिक गरिएको ‘नबिल जेन अल्फा‘ स्किमले बालबालिकाहरुमा बचतको बानि विकास हुने उनले विस्वास व्यक्त गरे । पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए ।

‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नको लागि एपले मद्दत गर्नेछ,’ पौड्यालले जानकारी दिए, ‘एप मार्फत् बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन् ।’

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो । अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् ।

बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।