सुनको मूल्य किन बढिरहेको छ ? महासंघ अध्यक्ष भन्छन्– अझै बढ्छ
वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९
shares

काठमाडौं, १६ वैशाख । पछिल्लो समय सुनचाँदीको मूल्य लगातार जसो बढिरहेको छ । आइतबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले सुनको मूल्य बढेको छ । बिवाहको सिजन सकिदा पनि किन सुनको मूल्य बढिरहेको हो ? भन्ने आम चासोको विषय छ । लगातार सुनको मूल्य किन बढिरहेको होला ? प्रस्तुत छ, यसै सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यसँग केटिएम भ्वाइसका लागि सरगम तामाङले गरेको कुराकानीको सम्पादित अंशः
बिवाहको सिजन त गइसक्यो, तर पनि सुनको मूल्य बढिरहेको छ । खासमा सुनको मूल्य कसरी घटबढ हुन्छ यसबारे बताइदिनोस् न ।
सुनचाँदीको मूल्य बढ्ने वा घट्ने विषय कुनै एउटा कारणले मात्रै हुँदैन । यसमा त धेरैवटा कुराहरुले असर गर्छ । मूल्य घटबढ हुने भनेको विशेष गरी अन्तराष्ट्रिय भाउका कारण हो । अन्तर्राष्ट्रिय बजारमा परेको असर नेपालमा पनि पर्छ । अन्तर्राष्ट्रिय स्तरमा जे हुन्छ, सोही अनुसार यहाँ पनि विश्लेषण गरिन्छ ।
मुल्य घटबढ हुनसक्ने कारणहरु चाहिँ ठ्याक्कै के के हुन ?
मूल्य घटबढ हुने भनेको विशेषगरी युद्ध हो । यससँगै प्राकृतिक विपत्ति पनि हो । युद्ध, प्राकृतिक विपत्तिसँगै व्यापारमा आएको मन्दीले पनि सुनको मूल्य घटबढ गराउन मद्दत गर्ने गर्दछ ।
सुनचादीँको मुल्य बढिरहेको छ, अहिले चाहिँ के कारणले बढिरहेको छ ?
अहिले मूल्य बढ्नुको मूख्य कारण भनेको विश्वका विभिन्न देशहरुमा भइरहेको युद्ध हो । अहिले इरान र इजरायल, रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । सुनको मूल्य बढ्नुमा यि युद्धको भूमिका छ ।
नेपालका सन्दर्भमा आम सर्वसाधारणले सुनचादीँको मूल्य घट्यो वा बढयो भनेर सर्वसाधारणले कसरी जानकारी पाउँछन् ?
सुनचाँदीको मूल्य आज कति छ भन्ने कुरा नेपाल सुनचाँदी व्यवसायी महासंघको वेबसाइटमार्फत हामीले सार्वजनिक गर्ने गरेका छौँ । यसबाहेक अन्य माध्यमहरुबाट समेत हामीले मूल्य प्रकाशन गर्ने गरेका छौँ ।
पसल–पसलमा डिजिटल वोर्डमार्फत, पत्रपत्रिका, रेडियो मार्फत र वेबसाईट मार्फत जानकारी पाउन सकिन्छ ।
अन्तमा, सुुनचादीँको मूल्य अब घट्ने सम्भावना के छ ?
अहिलेको अवस्थामा भन्नुपर्दा मूल्य घट्ने भन्दा पनि बढ्ने सम्भावना धेरै छ । मैले अघि पनि भनिसके, विभिन्न देशमा युद्ध भइरहेको छ । व्यापारमा मन्दी छ । कतिपय देशमा प्राकृतिक विपत्तिको कुरा पनि छ ।
फाईनान्सियल सिस्टम, अमेरिकी डलरको करेन्सीको साटोमा अर्को करेन्सी चलाउने भनिएको कारणले पनि सुनको मूल्य घट्ने होइन बढ्ने सम्भावना धेरै छ ।