सितापाइला सहकारीमा सञ्चालकको बद्मासी, बचतकर्ताको रकम दुरुपयोग गरेर जग्गामा लगानी
वि.सं.२०८१ चैत १३ बुधवार १७:२०
shares

काठमाडौं, २१ माघ । सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम ठगी गरेको छ । संस्थाले विगत १ वर्षदेखि बचतकर्ताको रकम विभिन्न बाहाना बनाउदै निक्षेप फिर्ता नगरेको हो ।
विगत १ वर्षदेखि निक्षेप फिर्ता नदिएको र दिएकाे चेक समेत फ्रिज भएकाे संस्थाका निक्षेपकर्ता देव कुवँरले बताए ।
‘तपाइहरूकाे पैसा फिर्ता दिन्छु, ढुक्क भएर बस्नु भन्दाभन्दै १ वर्ष पुगिसक्याे अझै दिएकाे छैन’ उनले भने, ‘सोझासाझा बचतकर्ताको रकम अपचलन गरेर सञ्चालकहरू र व्यवस्थापन टिम चुपचाप बसिरहेकाे छ ।’
यो पनि पढ्नुहोस् : साल्ट ट्रेडिङ बिराटनगरका हाकिम ‘भ्रष्टाचारमा लिप्त’, कर्मचारीले नै उठाए आवाज
सडकमा मकै पोल्ने सामान्य व्यापारीदेखि वृद्धवृद्धासम्म बचतकर्ता छन् । गाह्राे साह्राेमा काम पर्दा भनेर राखेकाे पैसा नपाउदा अहिले निक्षेपकर्ताले हैरानी खेपिरहेका छन् । निक्षेपकर्ता कुँवरले दिएकाे जानकारी अनुसार संस्थाले बचतकर्ताकाे रकम दुरूपयाेग गरेर जग्गामा लगानी गरेको छ ।
संस्थाका अध्यक्ष केदार मानन्धरले पनि निक्षेप फिर्ता नगरेको र बचत रकम जग्गामा लगानी गरेकाे स्वीकार गरेका छन् । लामाे समयदेखि नभएर केहि समय अघिदेखि निक्षेप फिर्ता नपाएकाे भन्दै उनले निक्षेपकर्ताकाे पैसा फिर्ता दिन संस्था तयार रहेकाे बताए । संस्थामा समस्या निम्तनुकाे प्रमुख कारण भने ऋण असुली हाे । लगानी भएकाे ऋण समयमा असुली नहुँदा निक्षपे फिर्ता दिन नपाएकाे उनकाे भनाइ छ ।
‘पैसा दिनु पर्छ भन्ने कुरामा संस्था क्लियर छ, सम्भवत फागुन २० देखि बचतकर्ताको निक्षेप फिर्ता गरी संस्थालाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्नेछाैँ’ उनले भने ।