Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरेमा बल्झियो समस्या, प्राइम बैंकलाई हराउदै बोहराले जिते चुनाव

3.5K
shares

काठमाडौं, ६ जेठ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा सञ्चालक समितिको बिवाद पुनः बल्झिने पक्का भएको छ । सञ्चालक समितिमा संस्थाका पूराना केही बिवादित व्यक्तिहरु निर्वाचित भएका छन् भने संस्थागत शेयर होल्डर रहेको प्राइम कमर्सीयल बैंकले चुनाव हारेको छ ।

सोमबार संस्थापक समूहका ३ जनाको लागि मणिकुमार अज्र्याल, सन्तोष फुयल, टेक बहादुर बोहरा चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् भने सर्वसाधारण समूहका ३ जना सञ्चालकहरु सुधिर कुमार श्रेष्ठ, सञ्जू घिमिरे र राजकुमार राई निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

बोहरालाई आर्थिक अनियमितता गरेको, संस्थागत सुशासन कायम नगराएको तथा संस्थामा अध्यक्ष भएको बेला मनपरी गरेको भन्दै राष्ट्र बैंकले नै प्रश्न उठाएको थियो । राष्ट्र बैंकले गम्भीर आरोप लगाउदै अध्यक्ष पदबाटै बर्खास्त गराएका बोहरा पुनः निर्वाचित भएको संस्थाका एक शेयर होल्डरले जानकारी दिए । ‘संस्था कब्जा गर्न भन्दै अज्र्याल, बोहरा र अहिले संस्थाका प्रमुुख कार्यकारी अधिकृत भोजराज बस्यालले गठबन्धन नै गर्नु भएको छ’ ति शेयर होल्डरले भने, ‘संस्थालाई क्षति हुन नदिने हो भने यो गठबन्धनबाट नभएर निष्पक्ष र स्वतन्त्र मान्छेले नेतृत्व लिनुपर्छ ।’

उनले बताए अनुसार अहिले बोहराको पक्षमा उनीसहित ३ जना सञ्चालक बनेका छन् भने अर्को पक्षमा पनि ३ जना सञ्चालक बनेका छन् । अब अध्यक्ष कसलाई बनाउने भन्ने विषय टुंगिन पनि समस्या हुने देखिएको छ । यस्तो अवस्थामा राष्ट्र बैंकले भूमिका खेल्न सक्छ । नियामक निकाय भएको र संस्थाले आफ्नो अभिभावकका रुपमा राष्ट्र बैंकलाई मान्ने भएकाले अब संस्था कस्तो बनाउने भन्ने विषय राष्ट्र बैंककै जिम्मामा रहेको छ ।

उसो त उच्च व्यवस्थापनका कर्मचारीहरु पनि संस्थालाई राम्रो बनाउन सही नेतृत्व आए सहज हुने बताउछन् । केटिएम भ्वाइसको सम्पर्कमा आएका एक उच्च तहका कर्मचारीले संस्थालाई बलियो बनाउन अध्यक्ष को हुने भन्ने कुराले पनि अर्थ राख्ने बताए । ‘नैतिक रुपमै पतन भएको मान्छे भन्दा राम्रो मान्छे आयो भने संस्था बन्छ, यसका लागि राष्ट्र बैंकले केही भूमिका खेलिदेओस् भन्ने हाम्रो अपेक्षा छ’ उनले भने ।