Dhulikhel Eco Banner new
HRM

बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो आगामी आवको नीति तथा कार्यक्रम

962
shares

काठमाडौं, २४ असार । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणले बीमा क्षेत्रको सुधार, विस्तार र सुदृढीकरणमा केन्द्रित योजना सार्वजनिक गरेको हो।

प्राधिकरणले बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउने, बीमितको हकहित संरक्षण गर्ने तथा बीमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित नयाँ नीति ल्याएको जनाएको छ।

साथै, बीमा सम्बन्धी विवाद तथा उजुरी निरूपण प्रक्रियालाई प्रभावकारी बनाउने, अनुसन्धानमा आधारित नीति निर्माण गर्ने, बीमालेख विकास र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने प्राधिकरणको योजना छ।

अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नियामकीय क्षमता सुदृढ गर्दै जोखिममा आधारित निरीक्षण प्रणालीको प्रयोगमार्फत बीमकहरूको नियमन र अनुगमन प्रभावकारी बनाइने नीति पनि सार्वजनिक गरिएको छ। प्राधिकरणले आगामी वर्षदेखि बीमा सूचना केन्द्र स्थापना गर्ने र बीमा क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि सशक्त व्यवस्था गर्ने जनाएको छ।

त्यस्तै, देशभरका विद्यार्थीहरूलाई लक्षित गर्दै एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा ल्याउने निर्णय समेत सार्वजनिक गरिएको छ। यो कार्यक्रम आन्तरिक स्रोत तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिनेछ।

बीमा पहुँच विस्तार, सेवा गुणस्तर सुधार र बीमित हित संरक्षणका लागि आगामी आवको नीति ऐतिहासिक बन्ने प्राधिकरणको दाबी छ।