१२२ कर फर्स्यौट नगरेका करदाताविरुद्ध बाग्मती प्रदेशमा कडा कारबाही प्रक्रिया सुरु

वि.सं.२०८२ साउन २ शुक्रवार १२:०६
shares

काठमाडौं, २ साउन । लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीजस्ता शीर्षकमा बक्यौता तिर्न नसकेका करदातामाथि कारबाही सुरु गरेको जनाएको छ।
कार्यालयका अनुसार बक्यौता दाखिला नगर्ने करदाताहरूको नाम, विवरण र बक्यौता रकमसहितको अभिलेख तयार पारिएको छ। तोकिएको समयसीमाभित्र कर नबुझाएमा ती करदाताको बैंक खाता, घरजग्गा तथा अन्य सम्पत्ति रोक्का गरिनुका साथै आयात–निर्यात प्रक्रिया पनि अवरुद्ध गरिने चेतावनी दिइएको छ।
पछिल्ला दिनमा कार्यालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। नियमित अनुगमनका क्रममा केही व्यवसायीहरूले कर प्रणालीबाट उम्कन प्रयास गरेको प्रमाण भेटिएको जनाइएको छ।
राजस्व कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा करदाताको संख्या वृद्धि भए तापनि कर संकलनको अनुपात भने अपेक्षाकृत दरमा वृद्धि हुन सकेको छैन। यही कारणले कर बक्यौता असुलीमा प्रशासन सक्रिय बनेको हो।
राजस्व प्रशासनका अनुसार करप्रति जनचेतना अभिवृद्धि गर्दै स्वेच्छिक कर तिर्ने संस्कार विकास गर्न तथा दायित्व नपुर्याउने करदातालाई कानुनी दायरामा ल्याउने उद्देश्यका साथ कारबाही अघि बढाइएको हो।