Dhulikhel Eco Banner new
HRM

रसुवाको बाढीको २९ करोड बराबरको बीमा दाबी

624
shares

काठमाडौं, ५ साउन । रसुवामा दुई साताअघि आएको बाढी र पहिरोका कारण हालसम्म २९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आइतबारसम्म ६३ भन्दा बढी बीमा दाबी दर्ता भइसकेका छन्।

असार २३ गते आएको बाढीपहिरोले रसुवागढी नाका आसपासको भन्सार यार्ड, जाँचपास भएका र हुन बाँकी सवारी साधन तथा कन्टेनरहरू बगाएको थियो। घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ जना अझै बेपत्ता छन्।

बीमा प्राधिकरणका अनुसार हालसम्म ९ वटा बीमा कम्पनीका बिमितहरूले २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।

दाबी रकममध्ये सबैभन्दा धेरै सामुद्रिक बीमा लेखअन्तर्गत परेको छ। यस शीर्षकमा ६ वटा दाबीबाट १५ करोड ७० लाख रुपैयाँ बराबरको क्षतिको दाबी गरिएको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ४ वटा आवेदनबाट ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बीमा अन्तर्गत १० बिमितबाट ४ करोड १८ लाख रुपैयाँ र मोटर बीमा अन्तर्गत सार्वजनिक ३२ र निजी ११, गरी ४३ बिमितले ३ करोड ४९ लाख रुपैयाँ बराबरको दाबी गरेका छन्।

प्राधिकरणका अनुसार घटनाबाट थप दाबीहरू आउन सक्ने सम्भावना रहेको छ । बीमा कम्पनीहरूलाई सत्य तथ्य छानबिन गरी यथाशीघ्र दाबी निस्तारण गर्न निर्देशन दिइएको छ।