Dhulikhel Eco Banner new
HRM

आरम्भ चौतारी लघुवित्तको नाफामा उछाल, एक वर्षमै ६ लाखबाट ९ करोड नाफा

637
shares

काठमाडौं, १४ साउन । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाउन सफल भएको छ। कम्पनीले अघिल्लो आवमा जम्मा ६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएकोमा गत आवमा यो नाफा ह्वात्तै उकालो लाग्दै ९ करोड ४४ लाख रुपैयाँमा पुगेको हो।

खुद नाफामा देखिएको उक्त वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उछालिएको छ। अघिल्लो आवमा कम्पनीको ईपीएस ०.१९ रुपैयाँ मात्र रहेकामा यो बढेर २५.७२ रुपैयाँमा पुगेको छ।

वित्तीय सूचकहरूमा सुधार देखाउँदै कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष २८ करोड ७ लाख रुपैयाँ रहेकामा यो रकम हाल ३७ करोड २ लाख रुपैयाँ पुगेको हो।

त्यस्तै, खुद सञ्चालन आम्दानी ३२ करोड ६२ लाख रुपैयाँबाट बढेर ४५ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ करोड ३० लाख रुपैयाँबाट थोरै वृद्धि भई १ करोड ३४ लाख रुपैयाँमा पुगेको छ।

वित्तीय हैसियतका हिसाबले कम्पनीको चुक्ता पूँजी हाल ३६ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने रिजर्भमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ। कम्पनीको वितरणयोग्य नाफा अर्थात् लाभांश क्षमता पनि ५ करोड २१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले हालसम्म ३ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा दर ४.२१ प्रतिशतबाट घटेर २.१३ प्रतिशतमा झरेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १५६.१८ रुपैयाँ पुगेको छ।