तीन एजुकेसनल कन्सल्टेन्सीलाई विभागको जरिवाना

वि.सं.२०८२ साउन १४ बुधवार १२:४९
shares

काठमाडौं, १४ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन एजुकेसनल कन्सल्टेन्सीलाई अवैध रूपमा सेवा प्रदान गरेको भन्दै जरिवाना तिराएको छ। मंगलवारको नियमित बजार अनुगमनको क्रममा ती कन्सल्टेन्सीहरू शिक्षा मन्त्रालयको इजाजतबिना सञ्चालन गरिरहेको पाइएको थियो।
विभागले स्टडी हब ग्लोबल प्रालि (काठमाडौं–४) लाई ६० हजार रुपैयाँ, हिमालयन एजुकेसनल ग्रुप सर्भिस (मध्यमपुर ठिमी–४) लाई ५१ हजार रुपैयाँ र प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालि (काठमाडौं–१४) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। ती संस्थाहरूले कुनै कानुनी दर्ता नपेस गरेको र मन्त्रालयबाट अनुमति नलिएको पाइएको विभागले जनाएको छ।
उपभोक्ता ठगेको उजुरीका आधारमा विभागले साउन १ गतेदेखि देशभरका एजुकेसनल कन्सल्टेन्सीहरूको अनुगमन सुरु गरेको हो। अनुगमनका क्रममा करिब ७० प्रतिशत कन्सल्टेन्सीहरू दर्ता नभई अवैध रूपमा सञ्चालन गरिरहेको प्रारम्भिक तथ्यांकले देखाएको विभागको भनाइ छ।
अनियमितता भेटिएका कन्सल्टेन्सीहरूमध्ये तीनवटालाई जरिवाना तिराइएको हो भने अन्य तीन संस्थालाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। त्यसबाहेक ९ वटा कन्सल्टेन्सीलाई प्राविधिक सुधारका लागि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।