Dhulikhel Eco Banner new
HRM

दसैंका लागि सुकिला नोट आइतवारदेखि साट्न सकिने

429
shares

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गरी आइतवारदेखि सुकिला नोट वितरण सुरु गरेको छ। दसैं, तिहार लगायतका पर्वमा नगद कारोबारको मात्रा बढ्ने भएकाले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले सुकिला नोट बजारमा पठाएको हो।

राष्ट्र बैंकले गत वर्षदेखि दसैंमा नयाँ नोट नबाड्ने नीति लिएको छ। नयाँ नोट प्रयोग गर्दा छिट्टै पुरानो हुने, फोहोर बढ्ने र व्यवस्थापनमा कठिनाइ हुने भएकाले यो निर्णय लिइएको हो। सोही नीति अनुरूप यस वर्ष पनि नयाँ नोट नछापी, सुकिला नोट मात्र वितरण गरिएको हो।

आइतवारदेखि सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली तथा प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट सुकिला नोट प्राप्त गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटसहित अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म सुकिला नोट साट्न पाउनेछन्।

चाडपर्वको बेला आवश्यक पर्ने सुकिला नोट सहज रूपमा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूमार्फत वितरण व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। बैंकले सबै जनसाधारणलाई अनावश्यक भीडभाड नगरी तोकिएको सीमा भित्र रही सुकिला नोट साट्न आग्रह गरेको छ।