Dhulikhel Eco Banner new
HRM

गभर्नर पौडेलद्वारा वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको अवलोकन

364
shares

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन्। केही दिनअघि जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र चोरीको घटनापछि गभर्नर पौडेल शाखा पुगेर अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा गभर्नर पौडेलले बैंकको भौतिक संरचना, क्षतिको विवरण र हाल बैंकले सामना गरिरहेको चुनौतीबारे जानकारी लिएका छन्। उनले शाखाका पदाधिकारीहरूसँग सेवा सुचारु राख्न आवश्यक उपाय र समन्वयबारे छलफल पनि गरेका छन्।

राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा निरन्तरता सुनिश्चित गर्न संवेदनशीलताका साथ काम गरिरहेको गभर्नर पौडेलले बताएका छन्। उनले भने, “बैंकिङ प्रणालीप्रति नागरिकको विश्वास कायम राख्न सेवा निरन्तरतामा कुनै सम्झौता गर्न मिल्दैन।”

जेनजी आन्दोलनको क्रममा वाणिज्य बैंक शाखामा तोडफोड र चोरी भएको पुष्टि प्रहरीले गरिसकेको छ। प्रहरीले केही रकम चोरी भएको जनाएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

सरकार र सुरक्षा निकायको समन्वयमा बैंक तथा वित्तीय संस्थाको सुरक्षामा थप ध्यान दिने प्रतिबद्धता पनि गभर्नर पौडेलले दोहोर्याएका छन्। बैंकका कर्मचारीहरूले सेवा पुनः सञ्चालनका लागि आवश्यक प्रयास गरिरहेको शाखाले जनाएको छ।