Dhulikhel Eco Banner new
HRM

आन्दोलनपछिको अवस्थामा बजार आपूर्ति सहज बनाउन विभागको आग्रह

338
shares

काठमाडौं, २९ भदौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालैको जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिपछि बजार आपूर्ति व्यवस्था सामान्य बन्दै गएको जनाएको छ। विभागले उपभोक्ताको हित संरक्षण गर्दै दैनिक उपभोग्य वस्तु तथा सेवाहरू सहज रूपमा उपलब्ध गराउन सबै सरोकारवालालाई विशेष आग्रह गरेको छ।

विभागले एक सूचना जारी गर्दै उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता तथा सम्पूर्ण निजी क्षेत्रलाई माग, आपूर्ति र मूल्यमा प्रतिकूल असर पार्ने गरी कुनै पनि वस्तु सञ्चित नगर्न आग्रह गरेको हो।

“कृत्रिम अभाव सिर्जना भई उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न सक्ने खतरा भएकाले यस्तो अभ्यास नगर्नरनगराउन सूचित गरिएको छ,” विभागले जनाएको छ।

त्यस्तै, आम उपभोक्तालाई पनि अत्यावश्यक वस्तुहरूको बजारमा अभाव नरहेकोले आवश्यकता भन्दा बढी खरिद तथा सञ्चय नगर्न सुझाव दिइएको छ। अनावश्यक सञ्चयले समेत कृत्रिम अभावको स्थिति सिर्जना हुन सक्ने भएकाले संयम अपनाउन विभागले आग्रह गरेको हो।

विभागले बजार नियमित अनुगमन गर्दै आएको जानकारी दिँदै मूल्यवृद्धि, अभाव र कालोबजारीजस्ता गतिविधिमा संलग्न पाइएमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। सरकार बजारमा आपूर्ति सन्तुलन कायम राख्न आवश्यक पहलमा जुटिरहेको विभागको भनाइ छ।