साउनमा रेमिट्यान्स आप्रवाहमा ३० प्रतिशत वृद्धि

वि.सं.२०८२ भदौ ३१ मंगलवार १०:१३
shares

काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालले रेमिट्यान्स (विप्रेषण)मार्फत १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ प्राप्त गरेको छ। यो अघिल्लो वर्षको साउनको तुलनामा २९.९ प्रतिशतले वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ मात्र थियो।
अमेरिकी डलरमा हेर्दा पनि चालु आवको साउनमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले वृद्धि भएर १ अर्ब २७ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धिदर १५।८ प्रतिशत मात्र थियो।
यससँगै चालु आवको पहिलो महिनामा खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको साउन महिनामा यो रकम १ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँ थियो।
रेमिट्यान्स आप्रवाहको वृद्धिसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। साउन महिनामात्रै ४४ हजार ४ सय ६६ जनाले नयाँ श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत० प्राप्त गरेका छन् भने २३ हजार ६ सय ४४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने संख्या ३६ हजार ९ सय २८ र पुनः स्वीकृति लिने संख्या २२ हजार ६ सय ४७ थियो।
विशेषज्ञहरूका अनुसार रेमिट्यान्स आप्रवाहमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। यसले विदेशी मुद्राको सञ्चिति बढाउनुका साथै व्यापार घाटा सन्तुलनमा ल्याउन सहयोग पुग्नेछ। तर, दीर्घकालीन समाधानका लागि वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा उनीहरूको जोड छ।