Dhulikhel Eco Banner new
HRM

साउन महिनामा १ खर्ब २९ अर्बले विदेशी विनिमय सञ्चिति वृद्धि

403
shares

काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको विदेशी विनिमय सञ्चिति १ खर्ब २९ अर्ब रुपैयाँले वृद्धि भई कुल सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा यो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

विदेशी विनिमय सञ्चिति साउन महिनामा ४.८ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा हेर्दा असार मसान्तमा सञ्चिति १९ अर्ब ५० करोड डलर रहेकोमा साउन मसान्तमा २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड डलर पुगेको छ।

नेपाल राष्ट्र बैंकमा मात्र रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड थियो भने साउन मसान्तमा ४ प्रतिशतले बढेर २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति साउन मसान्तमा १२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोडमा पुगेको हो।

२०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३।४ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको आयातको आधारमा हेर्दा अहिलेको विदेशी विनिमय सञ्चिति २०.४ महिनासम्मको वस्तु आयात र १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ।

यो सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादनको ४५.९ प्रतिशत बराबर पुगेको छ। यसका साथै, कुल आयातको तुलनामा १३८.३ प्रतिशत र विस्तृत मुद्राप्रदायको तुलनामा ३६ प्रतिशत पुगेको छ। असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।