Dhulikhel Eco Banner new
HRM

 साउन महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब नाघ्यो

416
shares

काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा व्यापार घाटाको वृद्धिदर ०.४ प्रतिशत मात्र थियो। तर चालु आवमा आयात र निर्यात दुवै पक्षमा वृद्धि देखिए पनि आयातको अनुपात तुलनात्मक रूपमा उच्च रहेकाले घाटा अझै कायम रहेको हो।

साउन महिनामा कूल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ०.६ प्रतिशतले घटेको थियो।

मूलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको आयात १४.१ प्रतिशत र अन्य मुलुकबाटको आयात २०.५ प्रतिशतले बढेको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्ट्स, चामल, कोइला, रासायनिक मलजस्ता वस्तुको आयात बढेको देखिन्छ।

तर, हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्ट्स र तेलहनको आयात भने घटेको छ।

चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साउन महिनामा निर्यात ९.६ प्रतिशतले घटेको थियो।

निर्यात गन्तव्यअनुसार भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ। तर, चीनतर्फको निर्यात ६५.२ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामग्रीको निर्यात बढेको छ। विपरीत रूपमा जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चिया आदि वस्तुको निर्यात घटेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ९.५ प्रतिशत मात्र थियो। यद्यपि अझै पनि आयात धेरै र निर्यात कम रहेकोले व्यापार घाटा उच्चस्तरमै कायम छ।

भारतबाट परिवर्त्य विदेशी मुद्रा प्रयोग गरी गरिएको आयात १३ अर्ब ४३ करोड रुपैयाँ बराबर रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड थियो।