Dhulikhel Eco Banner new
HRM

साल्ट ट्रेडिङ बिराटनगरका हाकिम ‘भ्रष्टाचारमा लिप्त’, कर्मचारीले नै उठाए आवाज

6.41K
shares

काठमाडौं, १८ माघ । साल्ट ट्रेडिङ कर्पोरेसनको बिराटनगर कार्यालयका प्रमुख राधेश्याम चौधरीमाथि भ्रष्टाचार आरोप लागेको छ । चौधरी माथि साल्ट ट्रेडिङको सामान खरिदमा अनियमिमता गरेको, संस्थानको सम्पत्ति शोषण, अनैतिक लाभ लिएको जस्ता गम्भीर आरोप लागेको हो ।

उनी माथि आफ्नै संस्थाका कर्मचारीहरुले समेत भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधान कार्यालय काठमाडौंसम्म उजुरी परेको छ । संस्थानको प्रधान कार्यालय काठमाडौं श्रोतले दिएको जानकारी अनुसार चौधरी माथि छानवीन गरी कारबाही गर्न आफ्नै कर्मचारीहरुले लिखित रुपमै उजुरी दिएका छन् ।

‘उहाँ भ्रष्टाचारमा लिप्त हुनु भएको भन्दै केही हाम्रै कर्मचारी साथीहरुले कार्यालयमा उजुरी दिनु भएको छ’ साल्ट ट्रेडिङ काठमाडौंमा कार्यरत उच्च तहका एक कर्मचारीले भने, ‘उजुरीबारे कारबाही भने भएको छैन ।’

यो पनि पढ्नुहोस् : सितापाइला सहकारीमा सञ्चालकको बद्मासी, बचतकर्ताको रकम दुरुपयोग गरेर जग्गामा लगानी

उनले संस्थाको सामाग्रीहरु खरिदबिक्रीमा मनपरी गरेपछि कर्मचारीहरुले प्रश्न उठाउने गरेका थिए । अनियमिमताको श्रृंखला निकै लामो भएपनि पुस २६ गते घटेको एउटा घटनाका कारण भने उनले गरेको अनियमितताका बारेमा काठमाडौं कार्यालयसम्म उजुरी पुगेको थियो ।

काठमाडौं कार्यालय श्रोतले केटिएम भ्वाइसलाई दिएको जानकारी अनुसार पुस २६ गते कार्यालय प्रमुख चौधरीले माताहतका कर्मचारीहरुलाई कार्यकक्षमै बोलाएर आफ्नो विरुद्ध नबोल्न धम्की दिएका थिए । आफ्नो विरुद्ध बोले ठिक नहुने भन्दै उनले केही कर्मचारीहरुलाई त हातमात नै गर्न तम्सिएको विषय लिखित उजुरीमा समेत उल्लेख गरिएको छ ।

‘आफूलाई सहयोग गरे केही रकम कर्मचारीलाई समेत छुट्याइदिने प्रलोभन चौधरी सरले दिनु भएको रहेछ, कर्मचारीहरुले कडै रुपमा आवाज उठाउने भएपछि भने हातहालालकै स्थिति बनेको रहेछ’ श्रोतले भन्यो ।

उजुरीका विषयमा बुझ्न हामीले साल्ट्र ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीलाई सम्पर्क गरेका थियौँ । संस्थानको वेवसाइटमा राखिएको मोवाइल नम्बर ९८५१३४८८४६ मा पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

यस विषयमा आरोपित कार्यालय प्रमुख चौधरीले शुरुमा आरोप अस्वीकार गरे । उनले आफू माथि अनियमितताको आरोप लगाउदै आफ्नै कर्मचारीले उजुरी गरेको भने स्वीकार गरे । केही कर्मचारीहरुलाई सरुवा गरिदिएको कारण आफूलाई भ्रष्टाचारको आरोप लगाएको उनको दावी छ ।