सालपा विकास बैंकको आईपीओ पुष २५ गते बाँडफाँट हुने
वि.सं.२०८२ पुस २३ बुधवार १६:३७
shares

काठमाडौं, २३ पुस । सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आगामी पुष २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सो दिनसम्म बाँडफाँट सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
बैंकको आईपीओमा लगानीकर्ताको उत्साह अत्यधिक देखिएको छ। कुल २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो संख्या निष्कासन गरिएको शेयरभन्दा १९.३७ गुणा बढी हो।
कम्पनीले सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता शेयर जारी गरेको थियो। माग धेरै भएपछि गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिनेछ। यसअनुसार जम्मा १ लाख ४३ हजार ९१७ जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन्।
अधिकांश आवेदक भने आईपीओबाट वञ्चित हुने देखिएको छ। कुल २२ लाख ३९ हजारभन्दा बढी आवेदकको हात खाली रहने अनुमान गरिएको छ। आईपीओ बाँडफाँटपछि शेयर सूचीकरणको प्रक्रिया अघि बढ्नेछ।



















