Dhulikhel Eco Banner new

कर्मचारीले नै डुबाउँदैछन् नेरुडे–मिर्मिरे लघुवित्त !

8K
shares

काठमाडौं, ३० पुस । आर्थिक संकटबाट गुज्रिरहेको नेरुडे–मिर्मिरे लघुवित्त वित्तीय संस्थाभित्र पछिल्लो समय केही कर्मचारीकै गतिविधिले संस्था झनै संकटतर्फ धकेलिएको भन्दै लगानीकर्ता एवं केही कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

संस्था घाटामा रहेको अवस्थामा पनि समस्या समाधानतर्फ लाग्नुपर्ने कर्मचारीको एउटा समूह भने अनावश्यक बखेडा झिक्ने, सामान्य विषयलाई अतिरञ्जित बनाउँदै नेतृत्वको मानमर्दन गर्ने गतिविधिमा सक्रिय रहेको आरोप लागेको छ । संस्थाभित्रका आन्तरिक स्रोतका अनुसार सामान्य प्रशासनिक निर्णय र कार्यशैलीलाई समेत विवादको विषय बनाउँदै सार्वजनिक रूपमा नेतृत्वविरुद्ध उभिनु संस्थाका लागि घातक बनेको छ ।

लघुवित्त क्षेत्रमा प्रतिस्पर्धा चर्कँदै गएको र संस्थाको वित्तीय अवस्था कमजोर बन्दै गएको अवस्थामा संस्थालाई जोगाउनेभन्दा पनि सिध्याउने मनोवृत्तिका कर्मचारीहरू देखिनु दुर्भाग्यपूर्ण भएको नेरुडेका एक संस्थापकले जानकारी दिए । उनका अनुसार केही कर्मचारीहरू संस्थागत सुधारभन्दा पनि संस्था कमजोर बनाउने अभियानमै लागेको जस्तो देखिन्छ ।

यसैबीच, नेरुडे–मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा हाल केशव पौडेल कार्यरत छन् । उनलाई सञ्चालक टेकबहादुर बोहरा नेतृत्वको समितिले सीईओ नियुक्तिका लागि सिफारिस गरेको थियो । सीईओ छनोट प्रक्रियामा २ दर्जनभन्दा बढी आकांक्षीहरूले आवेदन दिएको अवस्थामा पनि समितिले योग्यता, अनुभव र संस्थागत आवश्यकताको आधारमा पौडेललाई उपयुक्त ठहर गर्दै सिफारिस गरेको बोहरा आफैले केटिएम भ्वाइससँग बताएका थिए ।

तर अहिले त्यही नियुक्तिलाई लिएर केही कर्मचारीहरू सीईओ पौडेलविरुद्ध नाराबाजी गर्ने, धर्ना बस्ने र नियमित कामकाजमा अवरोध सिर्जना गर्ने गतिविधिमा उत्रिएका छन् । कार्यालय परिसरमै हुने यस्ता गतिविधिले सेवाग्राहीलाई समेत असर परेको छ भने संस्थाको छवि थप धुमिल हुने खतरा बढेको छ ।

लघुवित्त क्षेत्रका जानकारहरूका अनुसार, आन्तरिक असन्तुष्टि समाधानका वैधानिक र संस्थागत बाटा हुँदाहुँदै सडक र नाराबाजीको शैली अपनाउनु वित्तीय संस्थाका लागि आत्मघाती कदम हो । “संस्था संकटमा हुँदा नेतृत्व र कर्मचारीबीच सहकार्य आवश्यक हुन्छ, तर यहाँ उल्टो अवस्था देखियो,” एक विश्लेषकले भने ।

संस्था बचाउने कि व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्ने प्रश्न अहिले नेरुडे–मिर्मिरे लघुवित्तभित्र गम्भीर रूपमा उठेको छ । समयमै जिम्मेवार निकायले हस्तक्षेप गरी अनुशासन, संस्थागत मर्यादा र वित्तीय स्थायित्वलाई प्राथमिकतामा राख्न नसके संस्था थप समस्यामा फस्ने जोखिम देखिएको छ ।