Dhulikhel Eco Banner new

कालंगा हाइड्रोले चैत १० देखि आईपीओ जारी गर्ने

3.38K
shares

काठमाडौं, २ चैत । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट फागुन २६ गते अनुमति प्राप्त गरेको हो।

अनुमति अनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि आईपीओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।