Dhulikhel Eco Banner new

वार्षिक कारोबारको आधारमा मात्र कर्जा सीमा निर्धारण गर्ने व्यवस्था

4.94K
shares

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको दुरुपयोग रोक्न र बैंकिङ प्रणालीलाई व्यवस्थित बनाउन नयाँ संशोधित मार्गदर्शन लागू गरेको छ। “चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (चौथो संशोधन सहित)” जारी गर्दै राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कडा मापदण्ड पालना गर्नुपर्ने जनाएको छ।

नयाँ व्यवस्थाअनुसार व्यवसायीको वास्तविक कारोबार र आवश्यकताको आधारमा मात्र चालू पुँजी कर्जा दिइनेछ। कर्जा सीमा अब वार्षिक कारोबारसँग जोडिएको छ र सोभन्दा बढी कर्जा दिन बैंकलाई अनुमति नहुने स्पष्ट गरिएको छ।

राष्ट्र बैंकले चालू पुँजी कर्जा व्यवसाय बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। यदि कर्जा रकम व्यक्तिगत खर्च, घरजग्गा खरिद वा अन्य कर्जा तिर्न प्रयोग भएको पाइएमा त्यस्तो कर्जालाई खराब वर्गमा राखेर कडा कारबाही गरिनेछ।

मार्गदर्शनले कर्जाको सुरक्षणका लागि मुख्य रूपमा चल सम्पत्तिमा जोड दिएको छ भने अचल सम्पत्तिमा निर्भरता घटाउने नीति लिएको छ। साथै, धितोमा राखिएको सम्पत्तिको बीमा अनिवार्य गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले अब नियमित रूपमा ऋणीको कारोबार, स्टक र वित्तीय विवरणको निरीक्षण गर्नुपर्नेछ। कर्जा दुरुपयोग भएको पाइएमा तत्काल कारबाही गर्नुपर्ने व्यवस्था गरिएको छ।

एकभन्दा बढी बैंकबाट कर्जा लिने ऋणीको हकमा बैंकहरूबीच समन्वय अनिवार्य गरिएको छ। ठूलो परिमाणको कर्जामा पारीपासु सम्झौता गर्नुपर्ने प्रावधान पनि राखिएको छ।

नेपाल राष्ट्र बैंक ले उक्त मार्गदर्शन नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार लागू गरेको जनाउँदै यसले बैंकिङ क्षेत्रमा अनुशासन कायम गर्ने र कर्जा सदुपयोग सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।