Dhulikhel Eco Banner new

नाडा प्रतिनिधिमण्डल र बागमती मुख्यमन्त्रीबीच अटोमोवाइल क्षेत्रबारे छलफल

3.47K
shares

काठमाडौं, १० चैत । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेटगरी अटोमोवाइल क्षेत्रका विविध विषयमा छलफल गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीसँगको भेटमा मुख्यमन्त्री बानियाले नाडाको नयाँ नेतृत्वलाई बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले ५० वर्ष लामो इतिहास बोकेको नाडाले राजतन्त्रदेखि गणतन्त्रसम्मको अनुभव समेटेको उल्लेख गर्दै संस्थाको प्रशंसा गरे।

छलफलका क्रममा बानियाले देशभर दर्ता हुने सवारी साधनमध्ये करिब ५० प्रतिशत बागमती प्रदेशमै केन्द्रित हुने गरेको भन्दै राजधानी क्षेत्रमा ट्राफिक जाम र पार्किङ समस्या जटिल बन्दै गएको बताए। यी समस्या समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले आवश्यक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारी साधनका लागि ट्रायल सेन्टर सञ्चालनजस्ता विषयमा समेत सहकार्य गर्न सकिने धारणा राखे।

अध्यक्ष उप्रेतीले नाडामा ७ प्रदेशका २ हजार ८८३ सदस्य कम्पनी आबद्ध रहेको जानकारी दिँदै अटोमोवाइल क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताए। उनले यस क्षेत्रमा वार्षिक करिब ५ हजार जनशक्तिको आवश्यकता पर्ने उल्लेख गर्दै प्रदेश सरकारसँग सहकार्यका लागि मोडालिटी तयार गरी प्रस्ताव गरिने जानकारी दिए।

नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अटोमोवाइल क्षेत्रले देशबाट प्रतिभा पलायन रोक्न प्रयास गरिरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रम सञ्चालन भइरहेका बताए। उनले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने इच्छा व्यक्त गरे।

त्यसैगरी नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेकाले सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने चुनौती रहेको बताए। उनले नाडाले परिष्कृत पाठ्यक्रम तयार गरिरहेको र तालिमका लागि स्रोत तथा दक्ष प्रशिक्षक अभाव रहेको औंल्याए।

छलफलमा नाडाका पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको पनि उपस्थिति रहेको थियो।