Dhulikhel Eco Banner new

निजी क्षेत्रलाई भरोसा दिलाउँदै लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध छः अर्थमन्त्री वाग्ले

3.25K
shares

काठमाडौं, १७ चैत । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने सरकारको स्पष्ट धारणा राखेका छन्।

हिजो साँझ नेपाल उद्योग परिसंघसँग भएको भेटघाटमा अर्थमन्त्री वाग्लेले अहिले देशमा बलियो सरकार बनेको र जनतामा ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै यो अवसरलाई देशको आर्थिक उन्नतिका लागि प्रयोग गरिने बताए।

उनले निजी क्षेत्रले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता अहिले प्राप्त भएको उल्लेख गर्दै अबको प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको स्पष्ट पारे। “अब हामी बजेटमार्फत केही फरक ढंगले सम्बोधन गर्ने तयारीमा छौं,” उनले भने।

अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रप्रति उदार र सहयोगी रहेको सन्देश दिन पहिलो दिनमै १५ वटा कानुन खारेज गरिएको जानकारी दिए। उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने तर त्यसको नाममा छाडापन स्वीकार्य नहुने भन्दै आवश्यक नियमन भने कडाइका साथ लागू गरिने बताए।

“निजी क्षेत्रका साथीहरूले इमानदारीपूर्वक उद्योग र व्यापार गर्नुस्, सरकार दिल खोलेर सहयोग गर्छ,” उनले भने।

भेटघाटमा नमूना औद्योगिक पार्क निर्माण, लगानीमैत्री वातावरण सृजना र बहुराष्ट्रिय कम्पनी भित्र्याउने विषयमा पनि छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले ठूला तथा बहुराष्ट्रिय लगानीकर्तालाई नेपालमा आकर्षित गर्न निजी क्षेत्रलाई पहल गर्न आग्रह गर्दै सरकारबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

उनले स्वदेशी, ठूला तथा विदेशी लगानीको सुरक्षामा सरकार दृढ रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई लगानीका लागि उत्साहित हुन आग्रह गरे। “विदेशी लगानी ल्याउने वातावरण बनाउनुस्, सरकार तपाईंसँगै छ,” उनले भने।