पीएसपी र पीएसओको भूमिका बुझेर मात्रै डिजिटल भुक्तानी प्रयोग गर्नूपर्छः राष्ट्र बैंक
वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७
shares

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) को भूमिका स्पष्ट रूपमा बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रीय बैंकले डिजिटल भुक्तानीको सही र सुरक्षित प्रयोगमा जोड दिएको हो।
केन्द्रीय बैंकले जारी गरेको सन्देशमा भुक्तानी तथा फछ्र्योट प्रणालीलाई व्यवस्थित बनाउन आफूबाट अनुमतिपत्र प्राप्त विद्युतीय भुक्तानीसम्बन्धी संस्थाहरू नै यस प्रणालीअन्तर्गत पर्ने उल्लेख गरिएको छ। यस्ता संस्थाहरू मुख्यतः दुई प्रकारका हुने—भुक्तानी सेवा प्रदायक (पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) ।
राष्ट्र बैंकका अनुसार, पीएसपीहरूले सर्वसाधारण सेवाग्राहीलाई लक्षित गरी वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्वको भुक्तानी गर्ने, स्वदेशभित्र रकम स्थानान्तरण ट्रान्सफर गर्ने तथा विद्युतीय माध्यममार्फत भुक्तानी कारोबार सञ्चालन गर्ने काम गर्छन्।
त्यसैगरी, पीएसओहरूले समाशोधन गृह सञ्चालन, विद्युतीय कार्ड तथा अन्य अनलाइन भुक्तानी सञ्जाल व्यवस्थापनमार्फत भुक्तानी प्रणालीको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्ने गर्छन्।
हाल नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरी २१ वटा पीएसपी र ८ वटा पीएसओ सञ्चालनमा रहेका छन्। केन्द्रीय बैंकले डिजिटल भुक्तानीलाई अझ प्रभावकारी र सुरक्षित बनाउन यस्ता संस्थाको भूमिका बुझ्न र सचेत रूपमा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



















