Dhulikhel Eco Banner new

जेठ महिनामा विदेसिए ६१ हजार नेपाली

793
shares

काठमाडौं, २ असार । गएको जेठ महिनामा मात्रै ६१ हजारभन्दा बढी नेपाली नागरिक रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा सय देशमा ६१ हजार ७२ नेपाली रोजगारीको खोजीमा गएका हुन् ।

वैदेशिक रोजगारीमा जानेमा ७ हजार ३७४ जना महिला रहेका छन् भने पुरुषको संख्या ५३ हजार ६९८ रहेको छ । यसरी जानेमा बिदामा आएर फर्किनेको संख्या २९ हजार ४६२ रहेको छ ।

नयाँ श्रम स्वीकृति लिएर जानेहरू भने ३१ हजार ७०१ रहेका छन् । यस्तै, पछिल्लो समय सीपयुक्त जनशक्ति विदेशीने क्रम पनि बढेको छ । विभागका अनुसार जेठमा मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने सीपयुक्त व्यक्तिहरूको संख्या ३७ हजार ३९१ रहेको छ ।

अर्ध दक्ष ८ हजार ३२८ जना रहेका छन् भने उच्च सीप भएका ६३ जना रहेका छन् । यसका साथै व्यावसायिक २९६ जनाले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकहरूको संख्या १४ हजार ९९४ रहेको छ ।

मलेसिया जाने धेरै जेठ महिनामा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । बिदामा आएर फर्किएका र पहिलो पटक जानेगरी जेठ महिनामा मात्रै १४ हजार १९२ जना नेपाली मलेसिया गएको विभागले जनाएको छ ।

मलेसियापछि खाडीको देश यूएई जानेहरूको संख्या धेरै रहेको छ । यूएई जानका लागि १२ हजार ४५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि १० हजार २१० जना कतार गएका छन् भने ७ हजार ५१९ जना साउदी अरेबीया गएका छन् ।

खाडी र मलेसियापछि युरेपेली देश रोमानिया जाने नेपालीहरूको संख्या धेरै रहेको छ । जेठ महिनामा मात्रै रोमानिया जानका लागि २ हजार ५१५ जनाले श्रम स्वीकृति लिएका छन् ।