Dhulikhel Eco Banner new

शंकर जनता मावि दुहबीमा साइबर अपराध र बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

416
shares

काठमाडौं, २ असार । धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबीमा साइबर अपराध र बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध र बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

धनुषा प्रहरीले श्री शंकर जनता माध्यमिक विद्यालय दुहबीका विद्यार्थीहरुलाई लक्षित गरेर साइबर अपराध र बालविवाह विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक टेकबहादुर कार्की र प्रहरी नायव निरीक्षक गीता कार्कीले सहजीकरण तथा प्रशिक्षण दिएका थिए । साइबर अपराध र बालविवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखीकरण गरिएको थियो ।

कार्कीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुहुँदै साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्‍याउने एउटा सामाजिक अपराध भएको जानकारी दिए ।

कार्यक्रममा सहभागी बालबालिका स्वयंले बालबविवाहका कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बालविवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी वरिष्ठ नायव निरीक्षक कार्कीले विद्यालयमा बालविवाहको अवस्थाको बारेमा छलफल र जानकारी लिएका थिए।

श्री शंकर जनता माध्यमिक विद्यालय दुहबीमा धनुषा प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमले बालबालिकामा ज्ञान र चेतना वृद्धि भएको भन्दै धन्यवाद प्रकट गरेकाथिए । आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बालविवाह भइरहेको भन्दै उनले बालविवाह न्यूनीकरणका लागि स्वयं बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताए।

कार्यक्रममा विद्यालयको कक्षा ८,९ र १० सम्मका अध्ययनरत विद्यार्थी, शिक्षकहरुको सहभागिता थियो । कार्यक्रम प्रधानाध्यापक धनिकलाल ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।