दुई सातादेखि रोकिएका ६४९ बीवाईडी विद्युतीय सवारी फुकुवा
वि.सं.२०८३ असार २ मंगलवार १६:५३
shares

काठमाडौं, २ असार । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीका ६४९ विद्युतीय सवारी साधन फुकुवा गरिएको छ।
अर्थ मन्त्रालयले ती सवारी साधन आयतमा कुनै कैफियत छैन भने पनि प्रधानमन्त्री कार्यालयले सुरक्षाकर्मी लगाएर गाडी रोकेको थियो। सरकारले गठन गरेको समितिले सबै ‘ठिक छ’ भन्ने प्रतिवेदन दिएपछि नाकामा रोकिएका गाडी छोडिएका हुन्।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए। ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको थियो। ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मा १७ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो। कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।















