Dhulikhel Eco Banner new

विपद्को घडीमा स्पार्क हाइड्रोइलेक्ट्रिकको साथ, २० लाख राहत सहयोग

377
shares

काठमाडौँ, १५ भदौ ।  देश प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नगद १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा वितरण गर्ने निर्णय भएको कम्पनीका अध्यक्ष इन्जिनियर सुदीपकुमार चौधरीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइसकिएको छ भने दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइनेछ ।

अध्यक्ष चौधरीले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । तत्कालको संकटमा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन निजी क्षेत्र पनि सरकार र समुदायसँगै उभिनुपर्ने उनको भनाइ छ ।

“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो । राहत र उद्धारका लागि आफ्नो क्षमताअनुसार योगदान गर्नु आवश्यक छ,” चौधरीले भने ।

स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले ताप्लेजुङमा १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै कम्पनीले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको जनाएको छ ।