Dhulikhel Eco Banner new

नाइमा एक्स्पोमा टाटा पञ्च ईभी र टियागो ईभी सार्वजनिक

377
shares

काठमाडौं,२८ साउन । । नायमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सिप्रदी ट्रेडिङले टाटा मोटर्सका दुई नयाँ विद्युतीय मोडल Tata Punch.ev र Tiago.ev सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा जारी एक्स्पोमा यी दुवै मोडल सिप्रदीको स्टलमा मुख्य आकर्षणका रूपमा रहेका छन्।

नयाँ Punch.ev मा ३२ किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार नेपाली सडकमा गरिएको परीक्षणका आधारमा यसले एकपटकको फुल चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिनेछ। गाडीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरालगायतका फिचर दिइएको छ।

यसअघि सिप्रदीका डेपुटी म्यानेजर, ईभी रिटेल सेल्स सुजन कार्कीले केटीएम भ्वाइस सँग कुराकानी गर्दै नयाँ Punch अघिल्लो ३५ किलोवाट संस्करणको अपग्रेडेड मोडल भएको बताएका थिए। उनका अनुसार नयाँ संस्करणमा ब्याट्री प्याक तथा सेल प्रविधिमा परिवर्तन गरिएको छ। सिलिन्ड्रिकल सेलको सट्टा प्रिज्मेटिक सेल प्रयोग गरिएको छ भने डीसी फास्ट चार्जिङ क्षमता *७५ किलोवाटसम्म* पुर्‍याइएको छ।

नयाँ Punch.ev मा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ककपिट, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस–एक्टिभेटेड सनरुफ र ३६६ लिटरको बुट स्पेसजस्ता फिचर पनि उपलब्ध छन्।

त्यस्तै, सिप्रदीले Tata Tiago.ev लाई पनि नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ Tiago.ev मा नयाँ डिजाइन, नयाँ कलर विकल्प, ३६० डिग्री एचडी क्यामेरा, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागजस्ता फिचर दिइएको कम्पनीले जनाएको छ।

कम्पनीले एक्स्पो अवधिमा यी मोडल बुकिङ गर्ने ग्राहकका लागि विशेष अफरसमेत ल्याएको छ। उपलब्ध विवरणअनुसार Punch.ev को एक्स्पो अफर मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट* सुरु हुने र Tiago.ev को सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ।

सिप्रदीले विद्युतीय सवारीको बिक्रीसँगै बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीका अनुसार नेपालभर २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ पोइन्ट र १५० भन्दा बढी एसी चार्जिङ पोइन्ट सञ्चालनमा छन्।

नयाँ Punch.ev र Tiago.ev को सार्वजनिकसँगै सिप्रदीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो ईभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ।