Dhulikhel Eco Banner new

३० वर्ष पूरा गर्दै प्रभु इन्स्योरेन्स, अध्यक्ष मल्ल भन्छन्– ‘कम्पनीलाई अझ मजबुत बनाउँछौँ’

4.33K
shares

काठमाडौं, २२ साउन । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरी आजदेखि ३१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले ३०औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना नगरी कार्यालयमै सामान्य रूपमा वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

वार्षिकोत्सवको अवसरमा केटिएम भ्वाइसले प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लसँग कम्पनीको वर्तमान अवस्था, आगामी योजना तथा बीमा क्षेत्रका चुनौतीबारे कुराकानी गरेको छ ।

अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सलाई आगामी दिनमा थप सबल, सक्षम र प्रतिस्पर्धी कम्पनीका रूपमा अघि बढाउने बताएका छन्। लामो समयदेखि कम्पनीको सञ्चालक समितिको नेतृत्व गर्दै आएका मल्लले कम्पनीको संस्थागत क्षमता थप बलियो बनाउँदै व्यवसाय विस्तारमा केन्द्रित हुने बताए ।

यस वर्षको वार्षिकोत्सव भने विगतका वर्षहरूमा जस्तो ठूलो तडकभडक नगरी कार्यालयमै सामान्य रूपमा मनाउन लागिएको मल्लले जानकारी दिए। पछिल्लो समय मुलुकमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै वार्षिकोत्सवलाई भव्य कार्यक्रमको सट्टा सरल रूपमा मनाउन लागिएको उनको भनाइ छ ।

जेनजी आन्दोलनको असर, तर तुलनात्मक रूपमा कम क्षति

पछिल्लो समय भएको जेनजी आन्दोलनका कारण समग्र उद्योग तथा व्यवसाय क्षेत्रमा ठूलो क्षति पुगे पनि प्रभु इन्स्योरेन्समा भने तुलनात्मक रूपमा कम असर परेको अध्यक्ष मल्लले बताए ।

आन्दोलनका क्रममा निजी क्षेत्रका विभिन्न व्यवसाय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा समेत परेको बताए। यद्यपि, प्रभु इन्स्योरेन्सले सामना गरेको क्षति तुलनात्मक रूपमा कम रहेको उनको भनाइ छ ।

लाभांशमा पनि सकारात्मक संकेत

अध्यक्ष मल्लले कम्पनीले गत आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिएको स्मरण गर्दै यस वर्ष पनि शेयरधनीलाई राम्रो प्रतिफल दिन सकिने संकेत गरेका छन् ।

उनले यस वर्षको लाभांश १० प्रतिशत हाराहारीमा पुग्न सक्ने संकेत गरे । यद्यपि, अन्तिम लाभांश कम्पनीको वित्तीय अवस्था, नियामकीय व्यवस्था तथा सञ्चालक समितिको निर्णयमा निर्भर रहनेछ ।

संस्थापकदेखि अध्यक्षसम्म

राजेन्द्र मल्ल प्रभु इन्स्योरेन्सका संस्थापकसमेत हुन् । कम्पनीको स्थापनाकालदेखि नै जोडिँदै आएका मल्लले लामो समयदेखि सञ्चालक समितिको अध्यक्षका रूपमा नेतृत्व गर्दै आएका छन् ।

तीन दशक लामो यात्रामा प्रभु इन्स्योरेन्सले नेपालको गैरजीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । कम्पनीको आगामी यात्रालाई अझ मजबुत र व्यवस्थित बनाउँदै प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष मल्लले बताएका छन् ।

३० वर्ष पूरा गरेको अवसरमा प्रभु इन्स्योरेन्सले विगतको अनुभवबाट सिक्दै आगामी ३१औँ वर्षलाई थप सबल र विस्तारको वर्ष बनाउने लक्ष्य लिएको छ ।