Dhulikhel Eco Banner new

देशभर बैंकिङ कसुरको बिगबिगी : काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मुद्दा

1.22K
shares

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो समय बैंकिङ कसुर सबैभन्दा धेरै दर्ता हुने अपराध बनेको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले देशभर बैंकिङ कसुरका झण्डै १३ हजार मुद्दा दर्ता भएको देखाएको छ।

नेपाल प्रहरीका अनुसार देशभर बैंकिङ कसुरका १२ हजार ९ सय ५० वटा मुद्दा दर्ता भएका छन्। बैंकिङ क्षेत्रसँग सम्बन्धित ठगी र अनियमितताका घटनाहरू अन्य अपराधको तुलनामा सबैभन्दा बढी देखिएका हुन्।

तथ्याङ्कअनुसार काठमाडौँ उपत्यका बैंकिङ कसुरबाट सबैभन्दा बढी प्रभावित बनेको छ। देशभर दर्ता भएका कुल मुद्दामध्ये ४६ दशमलव ५० प्रतिशत अर्थात् ६ हजार २२ वटा मुद्दा काठमाडौँ उपत्यकामा मात्रै दर्ता भएका छन्। आर्थिक गतिविधि बढी हुने र बैंकिङ पहुँच व्यापक भएका कारण उपत्यकामा यस्ता अपराधका घटना बढी देखिएको प्रहरीको विश्लेषण छ।

उपत्यकाबाहिर मधेश प्रदेशमा सबैभन्दा बढी १ हजार ७ सय ५७ वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि लुम्बिनीमा १ हजार २ सय १८, कोशीमा १ हजार १ सय ५७, बागमती प्रदेशमा १ हजार २१, गण्डकीमा ९ सय ९४, सुदूरपश्चिममा ४ सय २६ र कर्णालीमा सबैभन्दा कम ३ सय ५५ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।