बाढीले बैंकिङ क्षेत्रमा अभूतपूर्व क्षति: १७ करोड नगद बग्यो, तीन दर्जन कर्मचारी बेपत्ता
वि.सं.२०८३ भदौ १६ मंगलवार ०९:०८
shares

गत भदौ १० गते लेहेन्दे खोला र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको जनजीवनसँगै देशको बैंकिङ क्षेत्रमा अभूतपूर्व क्षति पुर्याएको छ। जलवायु परिवर्तनका कारण पहाडी तथा सहरी संरचनामा बढेको जोखिमलाई यस घटनाले उजागर गरेको छ। बाढीले बैंकको भौतिक संरचना, नगद र मानवीय पुँजीमा समेत अहिलेसम्मकै ठूलो बज्रपात गरेको छ।
यस अकल्पनीय विपत्तिमा परी वाणिज्य बैंक, विकास बैंक र लघुवित्तमा कार्यरत करिब साढे तीन दर्जन कर्मचारी बेपत्ता भएका छन्। प्राप्त तथ्यांकअनुसार वाणिज्य बैंकका मात्रै २७ जना कर्मचारी सम्पर्कविहीन छन् भने अन्य विकास बैंक र लघुवित्तका कर्मचारीहरू पनि बाढीको चपेटामा परेका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, प्रभु, एनएमबि, सानिमा, लक्ष्मी सनराइज लगायतका बैंकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बेपत्ता कर्मचारीहरूको खोजी र उद्धारका लागि अपिल गरिरहेका छन्।
नेपाली बैंकिङ इतिहासमै पहिलोपटक यति ठूलो परिमाणमा बैंकको ढुकुटी (भल्ट) र एटीएम मेसिन नै बाढीले बगाएको छ। ११ वटा वाणिज्य बैंकका १६ शाखा पूर्ण रूपमा ध्वस्त हुँदा भल्ट र एटीएममा रहेको करिब १७ करोड रुपैयाँ नगद बाढीको भेलमा मिसिएको प्रारम्भिक अनुमान छ। भौतिक पूर्वाधारतर्फ मात्रै ५५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। सबैभन्दा बढी कृषि विकास बैंकको त्रिशूली शाखामा करिब ५० करोडको नोक्सानी भएको छ, जहाँ सर्वसाधारणका ६४ वटा लकरसमेत क्षतिग्रस्त भएका छन्। यसैगरी एनआईसी एशिया, हिमालयन, सिटिजन्स लगायतका बैंकले पनि ठूलो भौतिक नोक्सानी व्यहोरेका छन्।
बाढीले बैंकिङ प्रणालीको वासलातमै गम्भीर धक्का दिने देखिएको छ। क्षतिग्रस्त शाखाहरूमा रहेको सर्वसाधारणको करिब ४ अर्ब निक्षेप प्रणालीगत रूपमा सुरक्षित भए पनि स्थानीय स्तरमा प्रवाह भएको २ अर्ब ३३ करोड रुपैयाँ कर्जा भने उच्च जोखिममा परेको छ।
यस विपत्तिको सबैभन्दा भयावह आर्थिक असर जलविद्युत् क्षेत्रमा देखिएको छ। बैंकहरूको कन्सोर्टियम (सहवित्तीयकरण) मार्फत खर्बौं लगानी रहेका ६७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना बाढीले तहसनहस बनाएको छ। आयोजनाहरूमा क्षति पुगी विद्युत् उत्पादन नै रोकिने अवस्था आएपछि आगामी दिनमा बैंकहरूको साँवा–ब्याज असुली प्रभावित भई निष्क्रिय कर्जा (एनपीएल) ह्वात्तै बढ्ने जोखिम पैदा भएको छ।


















