Dhulikhel Eco Banner new

बाढीको सन्त्रासपछि आजको सेयर बजार: २४८० को मुख्य टेवा परीक्षण हुने, ‘बाउन्स ब्याक’को सम्भावना कति ?

663
shares

भोटेकोशी र त्रिशूली नदीको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्‍याएको क्षतिको धक्काका कारण लगातार पाँचौँ दिन घटेको सेयर बजार (नेप्से) आज कुन दिशातर्फ मोडिएला भन्नेमा लगानीकर्ताको नजर टिकेको छ। साताको पहिलो दिन परिसूचक २,५१३.४२ विन्दुमा खुम्चिएपछि आज बजारले २४८० को ‘मेजर सपोर्ट’ (मुख्य टेवा) परीक्षण गर्ने वा ‘टेक्निकल बाउन्स ब्याक’ लिने भन्ने द्विविधामा लगानीकर्ता देखिएका छन्।

प्राविधिक सूचकका आधारमा आजको बजार अत्यधिक जोखिमपूर्ण तर केही प्राविधिक सुधार (टेक्निकल रिकभरी) को सम्भावना बोकेको अवस्थामा छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २० भन्दा तल झरेर ‘ओभरसोल्ड’ (अत्यधिक बिक्री) क्षेत्रमा पुगिसकेकाले प्राविधिक रूपमा आज बजारमा बिक्री चाप केही कम भई ‘सर्ट टर्म बाउन्स’ आउन सक्ने अनुमान गर्न सकिन्छ। तर, ट्रेन्डको शक्ति नाप्ने ‘एडीएक्स’ (ADX) ले अझै आक्रामक बियरिस संकेत गरिरहेकाले बजारमा ‘प्यानिक सेलिङ’ पूर्ण रूपमा थामिइसकेको भने छैन।

आजको कारोबारमा पनि जलविद्युत् र निर्जीवन बिमा उपसमूहका सेयरहरू लगानीकर्ताको मुख्य निगरानीमा रहनेछन्। हिजो नेगेटिभ सर्किट नजिक पुगेका हाइड्रो र ठूलो बिमा दाबीको डरले ओरालो लागेका बिमा कम्पनीमा लगानीकर्ताले बिक्री थमाए भने ओभरसोल्ड जोनमा रहेका सेयरमा ‘बटम हन्टिङ’ (तल्लो मूल्यमा खरिद) सुरु हुन सक्छ। अर्कोतर्फ, पूर्वाधार पुनर्निर्माणको अपेक्षाले सोमबार सकारात्मक बनेका सिमेन्ट तथा उत्पादनमूलक कम्पनीहरूतर्फ आज पनि लगानीकर्ताको आकर्षण दोहोरिन सक्ने सम्भावना छ।

अघिल्लो दिन शीर्ष १० मध्ये ७ वटा ठूला ब्रोकरबाट खरिदको तुलनामा भारी बिक्री (नेट सेलिङ) भएकाले आज ठूला तथा संस्थागत लगानीकर्ताको रणनीति कस्तो रहन्छ भन्ने विषय निर्णायक हुनेछ। यदि आज बजार खुल्दा नै सेलरहरूको दबाब कायमै रहेमा नेप्सेले २४८० को बलियो टेवा बिन्दुलाई परीक्षण गर्नेछ। यदि उक्त टेवा बिन्दुमा क्रेता (बाइर) हरू हाबी भए भने बजारले सम्हालिन खोज्नेछ, अन्यथा बजारमा केही समय थप संकुचन आउन सक्ने विश्लेषकहरूको ठम्याइ छ।