९४ हजार मेट्रिकटन ग्यास कम ल्याउँदा जनताको भान्सामा हाहाकार
वि.सं.२०८३ भदौ २८ आइतवार १४:३७
shares

काठमाडौं, २८ भदौ । काठमाडौँका ग्यास डिपो अगाडि बिहानैदेखि उपभोक्ताहरूको लामो लाइन देखिनु अब अनौठोजस्तो लाग्न छाडेको छ । उपभोक्ता खाली सिलिन्डर लिएर एक सातासम्म पालो पर्खिरहेका छन्, तर डिपो सञ्चालकहरूको एउटै जबाफ छ– ग्यासको गाडी आएकै छैन । ग्यास तत्काल आउने सम्भावना छैन ।
ग्यास व्यवस्थापनमा सरकार असफल भइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले गौरी कुमारीले राजीनामा नै दिइन् । उनको राजीनामाको प्रमुख कारण नै ग्यास आपूर्ति व्यवस्थापनमा गर्नु नसक्नु देखिन्छ । उनले व्यवसायीसँगको छलफल र संसदीय समितिमा ‘ग्यास व्यवसायीलाई पाता कसेर नथुनेसम्म ग्यास सहज नहुने’ अभिव्यक्ति दिएकी थिइन् ।
उनको उक्त अभिव्यक्तिकै कारण राजीनामा दिन बाध्य भइन् । सरकारले तत्काल उद्योगमन्त्रीमा सुनसरीका दिपक शाहलाई नियुक्ति गरेको छ । मन्त्री शाहले सपथ लिएसँगै ग्यास सहज बनाउने विषयमा छलफल गरेर निर्णय लिने बताए ।
तर मन्त्रीले भनेजस्तो बजारमा ग्यास तत्काल सहज व्यवस्थापन गर्न सक्ने अवस्था छैन । बजारमा एलपी ग्यासको हाहाकार मच्चिएको छ ।
नेपाल आयल निगमको आन्तरिक तथ्याङ्कले बजारमा देखिएको ग्यास अभाव कुनै कृत्रिम समस्या नभई आयातमा गरिएको गम्भीर लापरबाही र व्यवस्थापकीय विफलताको प्रत्यक्ष परिणाम भएको देखिन्छ ।
निगममा तत्कालीन कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा रहेको निगम प्रशासनले आर्थिक वर्ष २०८२र०८३ मा आवश्यक प्रक्षेपणभन्दा झन्डै ९५ हजार मेट्रिक टन कम ग्यास आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनमा खपतको रेसियोभन्दा कम ग्यास आयात गरेको तथ्याङ्कले देखाएको छ । उक्त समयमा ग्यास कम आयात गर्दा अहिले ग्यासको अभाव सिर्जना भएको छ । सोही कारण मुलुकभर ग्यासको हाहाकार मच्चिएको आकलन गरिएको छ ।
नेपाल आयल निगम भने ढुवानैमा देखिएको समस्याकै कारण बजारमा ग्यास अभाव देखिएको बताउँछ । निगम स्रोतका अनुसार ग्यासको अभाव जाडो महिनाको सुरुवातसँगै बढ्दै गएको थियो । जाडो महिनामा पानी तताउन तथा अन्य प्रयोजनका लागि ग्यासको माग सामान्य अवस्थाभन्दा १५ देखि २० प्रतिशतसम्म बढ्ने गर्छ, तर बढेको माग अनुसार ग्यास आपूर्ति हुन नसक्दा जाडो महिनाबाटै बजारमा अभाव देखिन थालेको थियो ।
बजारमा ग्यास अभाव भइरहेको अवस्थामा सरकारले ल्याइएको आधा सिलिन्डरको नीति प्रणालीमा झन् ठूलो अस्तव्यस्तता ल्यायो । व्यवसायीहरूका अनुसार आधा सिलिन्डर ग्यास भर्दा समय धेरै लाग्ने र तौलको व्यवस्थापनमा समस्या हुँदा उद्योगहरूका स्टोरेज भरिए । जसका कारण भारतबाट आएका बुलेटहरू लामो समय नेपालमै रोकिन पुगेका थिए । नेपालमा बुलेटहरू जाममा परेपछि भारतीय ट्रान्सपोर्टरहरूले आफ्ना बुलेट अन्यत्रै लगाए, जसले गर्दा पछि ग्यास ल्याउने साधनकै अभाव भोग्नु परेको थियो ।
त्यसको कारणले पनि माग अनुसारको आयात हुन नसक्दा समस्या सिर्जना भएको हो । त्यो बेलामा थोरै व्यवस्थापन भएको देखिए पनि समस्या लामो समयदेखि आएको देखिन्छ ।
वैशाख महिनादेखि निरन्तर ग्यास आयात वृद्धि भएर आइरहेको निगमले जनाएको छ । निगमका अनुसार २०८३ वैशाखमा ३२ हजार ०५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४४४.४० मेट्रिक टन र श्रावणमा ५० हजार ३९६.३५ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो पाँच महिनामध्ये साउनमा एलपी ग्यासको आयात सबैभन्दा उच्च देखिएको छ । साउनमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको निगमले जनाएको छ । निगमका अनुसार साउन महिनामा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा आएको छ । पछिल्लो समय एलपी ग्यासको आयात तथा बिक्री–वितरण बढिरहेको देखिन्छ ।
आयल निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिन्डर काठमाडौं ल्याएर बिक्री गरिएका छन् ।
तत्कालीन निर्देशक चण्डिका भट्ट नेतृत्वको निगम प्रशासनले आर्थिक वर्ष २०८२र०८३ भरिमा जम्मा ५ लाख २१ हजार ५२९ मेट्रिक टनमात्र ग्यास आयात गर्यो । जुन निगमको प्रक्षेपणभन्दा ९४ हजार ६४४ मेट्रिक टन १५.३६ प्रतिशतले आयात कमी आएको छ । ३३ हजार ५८२ मेट्रिक टन अर्थात ६.०५ प्रतिशतले कम आयात भएको देखिन्छ ।
आयातमा सबैभन्दा कमी चैतदेखि असारसम्म देखियो । यो अवधिमा वास्तविक आयात अघिल्लो वर्षको तुलनामा २२.०१ प्रतिशतले घट्यो भने प्रक्षेपणको तुलनामा २९.७४ प्रतिशतको भयानक गिरावट आयो ।
तौलमा ग्यास कम ल्याउने तर आधा सिलिन्डर बजारमा पठाएर लाखौँ सिलिन्डर बजारमा पठाइसक्यौँ भन्दै जनता र सरकारको आँखामा छारो हाल्ने काम व्यवस्थापनबाट भयो । ७.१ केजीको सिलिन्डरले भान्सामा धेरै दिन धान्न नसक्दा उपभोक्ताहरू महिनामै दुई–तीन पटक लाइन लाग्न बाध्य भए जसले बजारमा झनै ठुलो आतङ्क सिर्जना गर्यो ।

















