Dhulikhel Eco Banner new

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

624
shares

काठमाडौं, ८ असोज । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्नेछ । राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणको अवधि ३२ दिनको हुनेछ ।

संकलित साँवा तथा ब्याज कात्तिक ९ गते भुक्तानी गरिनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।