Dhulikhel Eco Banner new

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा गिरावट

429
shares

काठमाडौं, १७ कात्तिक। साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्से सकारात्मक भएर बन्द भएको छ। कारोबारको अधिकांश समय घटेर कारोबार भएको बजार अन्तिम समयमा सम्हालिँदै सकारात्मक बनेको हो।

मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले वृद्धि भएको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३४९ वटा स्टकको ५७ हजार ४४४ पटकको कारोबारमा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख २० हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन शिखर पावर डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ। त्यस्तै, रिभर फल्स पावरको शेयरमूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

पछिल्ला दिनहरूमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य यस दिन सर्वाधिक ५.०४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको मंगलबार २३ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको करिब साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।

यस दिन कारोबारमा रहेका १३ उपसमूहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ।