रिपोर्ट सार्वजनिक गर्ने पहिलो लघुवित्त बन्यो नेरुडे मिर्मिरे, वित्तीय अवस्था कस्तो छ ?
वि.सं.२०८३ कात्तिक ११ बुधवार ०९:४४
shares

काठमाडौं, ११ कात्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था निकै दबाबमा परेको छ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा साढे ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको यस संस्थाले चालु वर्षको असोज मसान्तसम्म आइपुग्दा झन्डै ३ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। संस्थाको वित्तीय अवस्था बिग्रिनुमा मुख्यतः खराब कर्जा (एनपीएल) मा आएको अस्वाभाविक वृद्धि र मुख्य आम्दानीको स्रोत खुम्चिनुलाई जिम्मेवार मानिएको छ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षको अवधिमा लघुवित्तको खराब कर्जा १५.७० प्रतिशतबाट ह्वात्तै बढेर २१.७३ प्रतिशत पुगेको छ। खराब कर्जाको दर २१ प्रतिशत नाघ्नुले संस्थाको कर्जा असुली संयन्त्र निकै कमजोर बनेको र सम्पत्तिको गुणस्तर खस्किएको देखाउँछ।
समयमै कर्जा उठ्न नसक्दा संस्थाले सम्भावित जोखिम व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि मात्रै १० करोड २७ लाख रुपैयाँभन्दा बढी छुट्याउनुपरेको छ। यसका साथै, संस्थाको मुख्य व्यवसाय मानिने खुद ब्याज आम्दानी पनि करिब २८ प्रतिशतले घटेर २८ करोड ८९ लाख रुपैयाँमा खुम्चिँदा संस्था ३ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटामा धकेलिएको छ।
खराब कर्जा र सञ्चालन खर्चको भारले संस्था घाटामा गएसँगै लगानीकर्ताले पाउने प्रतिफलका सूचकहरू पनि ऋणात्मक बनेका छन्। अघिल्लो वर्ष १५ रुपैयाँ ८४ पैसा धनात्मक रहेको प्रतिसेयर आम्दानी (ईपीएस) अहिले ८ रुपैयाँ १ पैसा ऋणात्मक अवस्थामा झरेको छ।
त्यसैगरी, लगानीकर्तालाई लाभांश बाँड्ने क्षमता अर्थात् वितरणयोग्य नाफा पनि १५ करोड ८१ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। यद्यपि, विप्रेषण तथा कमिसनतर्फको आम्दानीमा भने संस्थाले सामान्य सुधार गर्दै ४ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा कायम रहेको छ।




















