Dhulikhel Eco Banner new

नेरुडेका सहायक सीईओ कटुवाललाई मिथिला लघुवित्तले पत्याएन

624
shares

काठमाडौं, ७ कात्तिक । राष्ट्रियस्तरको कार्यक्षेत्र भएकाे ठूलो संस्थाका रूपमा रहेको नेरुडे मिर्मिरे लघुवित्तका सहायक सीईओ दिनेश कटुवाललाई क्षेत्रीयस्तरको लघुवित्तले डिसीईओमा अयोग्य ठहर गरेको पाइएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाले कटुवाललाई डिसीईओमा नलिएको हो ।

नेरुडे मिर्मिरेको बहालवाला सहायक सीईओ रहेकै बखत कटुवालले मिथिला लघुवित्तको डिसीईओ बन्नका लागि आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट ७ जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ताका लागि बोलाइएको थियो । ७ जनामध्येबाट राजेशप्रसाद भट्टराई डिसीईओ नियुक्त भएका छन् । अझ रमाइलो कुरा चाहिँ नेरुडे मिर्मिरेका बहालवाला सहायक सीईओ रहेका कटुवाल प्रतीक्षा सूचीमा पनि पर्न सकेनन् ।

मिथिलाले भट्टराईलाई डिसीईओ नियुक्त गरेर राजेश्वर यादवलाई प्रतीक्षा सूचीमा राखेको छ । त्यति ठूलो संस्थाको उच्च व्यवस्थापन तहमा बहाल रहेका कटुवाललाई सानो संस्थाले पनि नपत्याउनुलाई भने अचम्मका रूपमा लिइएको छ ।

एउटा संस्थामा बहाल रहेकै बेला अर्को संस्थामा जान खुट्टा उचाल्नुलाई नैतिक रूपमा पनि राम्रो मानिँदैन । अर्कोतर्फ, कटुवालले आफ्नो क्षमतालाई आफैँ अवमूल्यन गरेर सानो संस्थामा जान मरिहत्ते गरेको कटुवाललाई नजिकबाट चिन्ने लघुवित्तकर्मीहरू बताउँछन् ।

‘कटुवाल सर आफैँमा क्षमतावान् मान्छे हो, अहिले एउटा सानो संस्थाले पनि नपत्याउँदा भने उहाँको केही कद घट्यो कि भन्ने लागेको छ,’ कटुवालका एक पूर्वसहकर्मी भन्छन्, ‘बहाल रहेकै बेला यसरी आवेदन दिनु नै गलत भयो ।’